कार्तिक १४, सोलुखुम्बु। सोलुखुम्बुको सोताङ गाउँपालिकामा करिब २५ करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजनाको ठेक्का आह्वान भएको छ। आर्थिक वर्ष २०८१/८२ मा सर्वेक्षण सम्पन्न भएको सोताङ गाउँपालिका बृहत् खानेपानी आयोजना वडा नं. १, ३, ४ र ५ मा सञ्चालन हुने गरी ठेक्का प्रक्रिया अघि बढाइएको हो।
गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको पहल तथा निरन्तर प्रयासपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको जनाइएको छ। आयोजनालाई अघि बढाउन अध्यक्ष बस्नेतले सम्बन्धित मन्त्री, केन्द्रीय खानेपानी आयोजना निर्देशक तथा प्राविधिकहरूसँग पटक–पटक समन्वय र छलफल गर्दै आउनुभएको थियो। दुई वर्षे बहुवर्षीय आयोजनाका रूपमा सञ्चालन हुने यस योजनाको ठेक्का आह्वान भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
लिंजीखर्क, कुम्रु, लुछेने, चिस्यानी र सिङ्गानी मुहानलगायतका जलस्रोतको उपयोग गरी सञ्चालन गरिने आयोजनाबाट सोताङ गाउँपालिकाका घरधुरीमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ। आयोजनामार्फत ‘एक घर, एक धारा’ को अवधारणा कार्यान्वयन गरिने जनाइएको छ। आयोजना सम्पन्न भएपछि स्थानीय बासिन्दालाई खानेपानीको सहज उपलब्धता हुनुका साथै दैनिक पानीको व्यवस्थापनमा हुने कठिनाइ कम हुने अपेक्षा गरिएको छ।









Discussion about this post