कार्तिक १४, सोलुखुम्बु । अर्नब चक्रवातको अवशेषका रूपमा विकसित न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपाल नजिक रहेकाले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ।
मधेस प्रदेशका केही स्थानमा समेत हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अपराह्नसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। केही समयअघि विशेष मौसम बुलेटिन जारी गर्दै महाशाखाले यस्तो जानकारी दिएको हो। अपराह्नपछि वर्षा र हिमपात क्रमशः कम हुँदै मौसममा सुधार आउने महाशाखाको पूर्वानुमान छ।










Discussion about this post