कार्तिक १४, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित इङ्खु नदीमा पहिरो खस्दा अस्थायी बाँध बनेको छ। तर उक्त बाँधबाट नदीको पानी निरन्तर बगिरहेको र तत्काल कुनै जोखिम नरहेको प्रहरीले जनाएको छ। नदीमाथिको भिरबाट पहिरो खसेपछि नदीको केही भाग थुनिएर अस्थायी ताल बनेको भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा खबर सार्वजनिक भएका थिए।
तर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उक्त स्थानमा यसअघि पनि पहिरो खस्ने गरेको र यसपटक पनि सोही क्रममा सामान्य बाँध बनेको हो । प्रहरी निरीक्षक तथा सूचना अधिकारी मौसम तामाङले समाचारमा आएजस्तो ठूलो वा जोखिमपूर्ण ताल नरहेको बताउनुभयो। पहिरोले बनेको अस्थायी बाँधबाट नदीको पानी नियमित रूपमा निकास भइरहेको उहाँको भनाइ छ।
इङ्खु नदी दूधकोशीमा मिसिने भएकाले बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै फैलिएको सूचनामा पनि तत्काल आत्तिनुपर्ने अवस्था नरहेको तामाङले स्पष्ट पार्नुभयो। यद्यपि पछिल्लो समय लगातार बेमौसमी वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको बहाव जुनसुकै बेला बढ्न सक्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।











Discussion about this post