कार्तिक १७, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–५ लाई आगामी मङ्सिरभित्र पोषणमैत्री वडा घोषणा गर्ने तयारीस्वरूप वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा सहजीकरण समितिको प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । ताप्ली–५ वडा कार्यालयमा सम्पन्न बैठक वडाध्यक्ष एवं पोषण तथा खाद्य सुरक्षा सहजीकरण समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको थियो । बैठकमा गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो ।
पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि आवश्यक ४९ वटा सूचकमध्ये १६ वटा सूचक पूरा गरी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भइसकेको जनाइएको छ । बाँकी सूचक पूरा गर्दै आगामी मङ्सिरभित्र वडालाई पोषणमैत्री घोषणा गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो । बैठकमा कृषि, पशु, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका लगायत विषयगत शाखाका प्रतिनिधि, टोल विकास संस्था, विद्यालय, बाल क्लब सञ्जाल, प्रहरी चौकी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसहित ४८ जनाको सहभागिता रहेको थियो । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा साझेदार संस्थाहरू हुरेन्डेक उदयपुर र जिड्स उदयपुरको आयोजनामा भएको समीक्षा बैठकमा पूरा हुन बाँकी सूचक, मापदण्ड तथा पोषण प्रोफाइल तयारीका विषयमा छलफल गरिएको थियो ।
बैठकमा गाउँपालिका अध्यक्ष विश्वकर्माले पोषणमैत्री वडा घोषणाका लागि सबै पक्षले सक्रिय र उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाँकी सूचक पूरा गर्न तथा आवश्यक तथ्याङ्क र प्रतिवेदन तयार गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै गाउँपालिकाका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठकले बाँकी काम सम्पन्न गर्न कार्ययोजना तथा जिम्मेवारी बाँडफाँट गर्ने क्रममा टोल विकास संस्था, विद्यालय तथा पोषण र स्वास्थ्य शाखाले आवश्यक तथ्याङ्क र प्रतिवेदन तयार गरी पेस गर्ने सहमति गरेको छ ।
बैठकको समापनमा वडाध्यक्ष श्रेष्ठले सबै पक्षलाई तोकिएको जिम्मेवारी र कार्यविवरण समयमै पूरा गरी ताप्ली गाउँपालिका तथा जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषणा गर्ने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल सरकारले सन् २०३० अर्थात् विसं २०८७ भित्र सबै स्थानीय तहलाई बालमैत्री तथा पोषणमैत्री घोषणा गर्ने लक्ष्य लिएको सन्दर्भमा ताप्ली गाउँपालिका बालमैत्री स्थानीय तह घोषणाको अन्तिम चरणमा रहेको जनाइएको छ । बालमैत्री अभियानसँगै पोषणमैत्री स्थानीय शासन घोषणाको अभियानलाई पनि अघि बढाउनुपर्नेमा आयोजक तथा सहयोगी संस्थाहरूले जोड दिएका छन् ।










Discussion about this post