कार्तिक १९, सोलुखुम्बु । केही दिनदेखिको वर्षा रोकिएर मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई पाकेको धान काट्ने र भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान कटाइले गति लिएपछि जिल्लाका विभिन्न स्थानका खेतमा किसानको चहलपहल बढेको हो । जिल्लाको सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुक्ली र देउसाललगायतका क्षेत्रमा किसान धान काट्न र थन्क्याउन व्यस्त छन् ।
दसैँलगत्तै धान काट्न सुरु गरेका किसान केही दिनको लगातार वर्षाले काम प्रभावित भएपछि अहिले मौसम अनुकूल बनेसँगै धमाधम अन्न भित्र्याउन जुटेका हुन् । नेचासल्यान गाउँपालिका–१ का किसान कुमार बस्नेतले वर्षाका कारण रोकिएको धान भित्र्याउने काम अहिले तीव्र गतिमा भइरहेको बताउनुभयो । मौसम खुलेपछि खेतमा काम गर्न सहज भएको उहाँको भनाइ छ । यस्तै, अर्का किसान अशोक कार्कीलाई पनि वर्षभरि खाने अन्न सुरक्षित रूपमा भित्र्याउने चटारो छ ।
एकै समयमा धान पाकेकाले कटाइका लागि आवश्यक श्रमिक पाउन समस्या भइरहेको उहाँले बताउनुभयो । धान काट्ने र पराल थन्क्याउने कामसँगै किसानलाई हिउँदे आलु लगाउने तयारीले समेत व्यस्त बनाएको छ । मौसम जुनसुकै बेला परिवर्तन हुन सक्ने र असिना–पानीको जोखिम कायमै रहने भएकाले पाकेको धान समयमै भित्र्याउनुपर्ने दबाब किसानमा देखिन्छ । पछिल्ला वर्षमा धान रोपाइँ छिटो हुन थालेकाले यस वर्ष पनि केही स्थानमा धान चाँडै पाकेको किसान बताउँछन् ।
ढिलो रोपाइँ भएका क्षेत्रमा भने अझै धान पाक्न बाँकी छ । समयमा वर्षा हुनु र धानमा रोगको प्रकोप खासै नदेखिनुले यस वर्ष उत्पादन केही बढ्ने किसानको अपेक्षा छ । जिल्लामा हाल एक हजार ६२५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको तथ्याङ्क छ । यहाँका किसानले मोटा धानअन्तर्गत दुधेमार्सी, ताइचिन, मकवानपुरे, दोलाखे र पोखरेलीलगायतका जात लगाउँदै आएका छन् ।
यसका साथै मसिनो धानको खेतीसमेत हुने गरेको छ । मौसम अनुकूल रहे समयमै धान भित्र्याउन सकिने र उत्पादनसमेत सन्तोषजनक हुने अपेक्षामा किसान छन् । तर, बदलिँदो मौसमका कारण पाकेको बालीमा क्षति पुग्न सक्ने चिन्ताले उनीहरूलाई छिटोभन्दा छिटो धान थन्क्याउनुपर्ने हतारो छ ।











Discussion about this post