कार्तिक १९, सोलुखुम्बु । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ। प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा आफ्नो नाम जोडिएको विषयप्रति अनभिज्ञता व्यक्त गर्दै उहाँले आफू कुनै पनि गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको दाबी गर्नुभएको हो।
पार्टीको आधिकारिकता र आन्तरिक रूपान्तरणका लागि भइरहेको संघर्षलाई कार्यकर्ताहरूको विद्रोहको संज्ञा दिँदै सभापति थापाले उक्त राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन नभएको जिकिर गर्नुभयो। उहाँले पार्टीको आधिकारिकताका लागि भइरहेको संघर्षलाई पैसासँग जोड्नु अनुचित हुने बताउनुभयो। उहाँले विद्रोह गर्नेहरूले परिणामको चिन्ता गर्ने तर करोडौँ रुपैयाँको लेनदेनमा संलग्न हुने भन्ने कुरा आफैँमा विरोधाभासपूर्ण रहेको उल्लेख गर्नुभयो।
पार्टीको आधिकारिकताको लडाइँमा एक सुको पनि आर्थिक लेनदेन तथा अनुचित काम नभएको उहाँको भनाइ छ। यसअघि महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालयबाटै यस विषयमा स्पष्ट पारिसकेको उल्लेख गर्दै सभापति थापाले नेपाली कांग्रेस सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको बताउनुभयो।
सार्वजनिक अडियो कहाँ, कसले, कहिले र किन बोलेको वा बोलाइएको हो भन्ने विषय अनुसन्धानबाटै स्पष्ट हुनुपर्ने उहाँको धारणा छ। अडियो प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिँदै उहाँले अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गर्नुभयो। साथै, अडियो सार्वजनिक भएपछि आफू डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्न पुगेको भन्ने चर्चासमेत उहाँले अस्वीकार गर्नुभएको छ।
सभापति थापाले विवादित अडियोको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाटै स्थापित हुनुपर्ने उल्लेख गर्दै यस विषयमा पार्टीले अनुसन्धानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।











Discussion about this post