कार्तिक २०, सोलुखुम्बु । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ। प्राचीन मिथिला क्षेत्रमा भने तिहारको पहिलो दिन आज साँझ दीपमालिका गरी धनतेरस मनाउने परम्परा रहेको छ। तिथिको घटबढका कारण यस वर्ष मिथिला क्षेत्रमा पाँच दिन मनाइने तिहार छ दिनसम्म चल्ने भएको छ। महोत्तरीसहित मिथिला क्षेत्रका घरघरमा आज साँझ दीप प्रज्वलन गरी धनतेरस मनाइँदैछ।
यस दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने विश्वासका साथ नयाँ धातुका भाँडाकुँडा, गरगहना, खरेटो तथा धनियाँलगायत सामग्री किनेर पूजा गर्ने परम्परा छ। मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाका अनुसार आज बिहान सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु हुने भएकाले आजै धनतेरस मनाउन लागिएको हो।
त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहने उहाँले जानकारी दिनुभयो। मिथिला क्षेत्रमा चाडपर्व, तिथिश्राद्ध तथा शुभकार्यको निर्णय मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गर्ने प्रचलन छ। त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने यस वर्ष शनिबार परेको छ।
पञ्चाङ्गअनुसार आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गर्ने कार्यक्रम छ। मिथिला क्षेत्रमा दिवालीका नामले समेत चिनिने दीपावली पर्व आगामी बुधबार भैयादूज मनाएसँगै सम्पन्न हुनेछ।










Discussion about this post