कातिक २७, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा गोठमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७० वर्षीय धिरजबहादुर राई रहेका छन्। परिवारबाट छुट्टिएर एक्लै बस्दै आएका राई बुधबार बाँझेच्यानडाँडाको रातमाटेस्थित आफ्नै गोठमा मृत अवस्थामा फेला परेका हुन्।
दुई छोरा र दुई छोरीका पिता राई विगत एक वर्षदेखि गोठमा बस्दै सुन्तलाखेती तथा सुङ्गुरपालन गर्दै आएका थिए। गोठमा आफैँले अगेनामा बालेको आगो सल्किएर जलेका कारण उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। स्थानीय वडाध्यक्ष हेमन राईका अनुसार एकान्त स्थानमा गोठ रहेकाले आगलागी भएको समय र घटनाको वास्तविक कारण खुल्न सकेको छैन।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली घटनास्थल पठाई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको प्रहरीले जनाएको छ।










Discussion about this post