कातिक २८, सोलुखुम्बु । खोटाङमा तिहारमा दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता तथा भेटघाटलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियानबाट ३०७ जना चेली लाभान्वित भएका छन् । आर्थिक अभाव र यातायातको असहजताका कारण तिहारमा माइती पुग्न कठिनाइ भोगिरहेका महिलालाई लक्षित गरी सञ्चालन गरिएको अभियानले चेलीहरूलाई माइतीसम्म पुग्ने सहज माध्यम उपलब्ध गराएको हो ।
अभियानअन्तर्गत कात्तिक २४ गतेदेखि २६ गतेसम्म तीन दिन निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरिएको थियो । यस क्रममा चेलीहरूलाई घरबाट माइती र माइतीबाट पुनः घरसम्म पुर्याउने व्यवस्था मिलाइएको थियो । अभियानको सचिवालयकी अन्जना आचार्यका अनुसार पहिलो दिन कात्तिक २४ गते १३८ जनाले सेवा लिएका थिए ।
दोस्रो दिन १०१ जना र अन्तिम दिन ७० जना गरी तीन दिनमा कुल ३०७ जना चेलीले निःशुल्क बाइक सेवाको सुविधा पाएका हुन् । अभियानका संयोजक सञ्जयकुमार राईले आर्थिक अवस्था कमजोर भएका तथा यातायातको सहज पहुँच नभएका महिलालाई लक्षित गरेर अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।










Discussion about this post