कातिक २८,सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कवि मुक्तिनाथ साहित्य सम्मान तथा छात्रवृत्ति वितरण एवं आशुकविता सिर्जना प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । सोलुखुम्बु इनिसिएटिभ, नेचासल्यान–४ को आयोजनामा भएको कार्यक्रममा दुई जना साहित्यकारलाई सम्मान तथा पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
रोहितप्रसाद बास्तोलाको सभापतित्व तथा कोशी प्रदेशसभा सदस्य एवं पूर्वसामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष विना राई र साहित्यकार हरि कटेलको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएको भन्दै नेचासल्यान गाउँपालिका–४ का साहित्यकार हरि कटेल र वडा नम्बर २ का डा. मुलिविर राईलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
दुवै जनालाई दोसल्ला, सम्मानपत्र र जनही आठ हजार आठ सय ४८ रुपैयाँ नगदसहित सम्मान गरिएको हो । यसैगरी, नेपाल आईडी शैक्षिक छात्रवृत्ति–२०८३ अन्तर्गत पाँच जना विद्यार्थीलाई जनही आठ हजार आठ सय ४८ रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ । छात्रवृत्ति प्राप्त गर्नेमा केदार माध्यमिक विद्यालय नेचासल्यानका निशा नेपाली र गीता भण्डारी, छेस्काम माध्यमिक विद्यालय महाकुलुङकी अस्मिता कुलुङ, वीरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङकी अनिसा कुलुङ तथा गार्मा माध्यमिक विद्यालयका एक विद्यार्थी रहेका छन् ।
कार्यक्रमअन्तर्गत आयोजित आशुकविता सिर्जना प्रतियोगितामा सञ्जिव भण्डारी प्रथम, दिप्सन बास्तोला द्वितीय र कुलबहादुर नेपाली तृतीय भएका छन् । प्रतियोगितामा निशा नेपालीले सान्त्वना स्थान हासिल गरेकी छन् । कार्यक्रममा सहभागी अतिथिहरूले साहित्यको विकास, सर्जकको सम्मान र विद्यार्थीको शैक्षिक प्रोत्साहनका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए ।
अमेरिकामा रहनुभएका डा। थोमस बास्तोलाले पनि कार्यक्रम सफलताको शुभकामना सन्देश पठाउनुभएको थियो । बालकुमार जमरकट्टेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन टंक दाहालले गर्नुभएको थियो । साहित्यिक सिर्जनाको संरक्षण, प्रतिभाको पहिचान तथा विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।










Discussion about this post