कातिक २८, सोलुखुम्बु । नेपाली कांग्रेसका सहमहामन्त्री आङ्गेलु शेर्पाले नेपालको राजनीतिक इतिहासले नेपाली कांग्रेस लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको पार्टी भएको पुष्टि गरेको बताउनुभएको छ । नेचासल्यान गाउँपालिकामा आयोजित पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उहाँले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरू जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
सरकारले गलत बाटो अवलम्बन गरेमा त्यसलाई सही दिशामा ल्याउन नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्ष तथा लोकतान्त्रिक शक्तिका रूपमा भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो । पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा राख्दै सहमहामन्त्री शेर्पाले नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन नभएको स्पष्ट पार्नुभयो । असन्तुष्ट समूहले छुट्टै पार्टी गठन गर्न सक्ने सम्भावना रहे पनि त्यसलाई कानुनी रूपमा पार्टी विभाजन भएको मान्न नमिल्ने उहाँले बताउनुभयो । उहाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीभित्र उमेर, जातजाति, धर्म, पेसा तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने आधार प्रस्तुत गरेको उल्लेख गर्नुभयो।
महाधिवेशनले कांग्रेसलाई नेपालको पहिलो समावेशी राजनीतिक पार्टीका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । आगामी निर्वाचनबारे चर्चा गर्दै शेर्पाले अबको चुनाव पार्टीगत प्रतिस्पर्धामा मात्र सीमित नहुने बताउनुभयो। जनतासँग प्रत्यक्ष जोडिएका एजेन्डा, विकासको दृष्टिकोण र आर्थिक तथा सामाजिक रूपान्तरणका योजनाले निर्वाचनको परिणाम निर्धारण गर्ने उहाँले उल्लेख गर्नुभयो ।
गाउँको विकास, रोजगारी सिर्जना, सांस्कृतिक संरक्षण तथा आर्थिक र सामाजिक रूपान्तरणका विषयमा नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण रहेको बताउँदै उहाँले पार्टीका एजेन्डा जनताले रुचाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। भेटघाटका क्रममा पार्टीको वर्तमान अवस्था, आगामी राजनीतिक दिशा, निर्वाचन र स्थानीय विकासका विषयमा छलफल भएको थियो ।










Discussion about this post