कातिक २९, सोलुखुम्बु । उदयपुरमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा शनिबार दिउँसो भएको दुर्घटनामा धनकुटा नगरपालिका–५ का २२ वर्षीय रोजन परियारको मृत्यु भएको हो।
प्रहरीका अनुसार दिउँसो करिब १२ः४० बजे गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १–०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको ना।७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक परियार गम्भीर घाइते भएका थिए। शरीरका विभिन्न भागमा चोट लागेका उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर, उपचारकै क्रममा दिउँसो १ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतकको शव जिल्ला अस्पताल उदयपुरको शवगृहमा राखिएको छ। दुर्घटनापछि प्रहरीले ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका–१० का २६ वर्षीय सोभितमान बस्नेत र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।










Discussion about this post