कातिक २९, सोलुखुम्बु । शरद ऋतुको पदयात्रा (ट्रेकिङ) सिजन सुरु भएसँगै सोलुखुम्बुको लुक्लामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढेको छ । सगरमाथा क्षेत्रको प्रमुख प्रवेशद्वारका रूपमा रहेको तेन्जिङ हिलारी विमानस्थलमा सगरमाथा आधार शिविर, गोक्यो उपत्यका, कालापत्थरलगायतका हिमाली गन्तव्यमा जाने पर्यटकको चहलपहल बढेको हो । पदयात्राका लागि विभिन्न देशबाट पर्यटक आउने क्रम बढेसँगै लुक्ला विमानस्थलमा यात्रुको चापसमेत बढेको छ ।
विशेषगरी नाम्चे बजार हुँदै सगरमाथा आधार शिविर जाने पर्यटकको संख्या बढेको छ । यात्रुको चाप बढ्नु र लुक्ला–काठमाडौँबीच सीमित उडान हुनुका कारण हवाई टिकट पाउन कठिन भएको छ । टिकट नपाउँदा कतिपय यात्रु विमानस्थलमै लामो समय पर्खिन बाध्य भएका छन् । विमानस्थलका निमित्त प्रमुख नवराज कटुवालका अनुसार लुक्लामा हेलिकप्टर उडानसमेत जोड्दा दैनिक औसतमा करिब ४०० उडान हुने गरेका छन् ।
यहाँ तारा एयर, समिट एयर र सीता एयरले नियमित हवाई सेवा सञ्चालन गर्दै आएका छन् । यस्तै, विभिन्न हेलिकप्टर कम्पनीले पनि खुम्बु क्षेत्रमा पर्यटक ओसारपसार तथा हिमाल अवलोकनका लागि उडान सञ्चालन गरिरहेका छन् । समिट एयरका लुक्ला प्रमुख लाक्पा काजी शेर्पाका अनुसार पछिल्लो समय विभिन्न देशबाट पर्यटकहरू लुक्ला आउने क्रम बढेको छ । पर्यटकको प्रमुख आकर्षण सगरमाथा आधार शिविर बनेको उहाँले बताउनुभयो ।
पर्यटक आगमन बढेसँगै लुक्ला तथा आसपासका क्षेत्रका होटल, रेस्टुरेन्ट, पर्यटन गाइड, भरिया र स्थानीय व्यापारीको व्यवसायमा समेत चहलपहल बढेको छ । पदयात्राको व्यस्त मौसमले पर्यटन व्यवसायमा निर्भर स्थानीय बासिन्दाका लागि आम्दानी र रोजगारीका अवसर सिर्जना गरेको छ । यद्यपि, पर्यटकको चाप बढ्दै जाँदा कतिपय होटल तथा व्यवसायीलाई आगन्तुकको व्यवस्थापन गर्न कठिनाइसमेत हुन थालेको छ । शरद ऋतु सगरमाथा क्षेत्रमा पदयात्राका लागि उपयुक्त मौसम मानिने भएकाले आगामी दिनमा पनि पर्यटकको आगमन थप बढ्ने अपेक्षा गरिएको छ ।










Discussion about this post