कार्तिक २९, सोलुखुम्बु । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकामा अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता ‘सुनकोशी गाउँपालिका कप – २०८३’ आयोजना हुने भएको छ । प्रतियोगिताको विजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सुनकोशी गाउँपालिकाको आयोजनामा आगामी मंसिर २१ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सुनकोशी गाउँपालिका ५, ओखलढुङ्गास्थित मुलर्खक खेलमैदानमा हुनेछ । खेल क्षेत्रको प्रवर्द्धन गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो ।
गाउँपालिकाले प्रतियोगितामा सहभागी हुन इच्छुक स्थानीय तह तथा खेलाडीलाई आह्वान गर्दै सूचना जारी गरेको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क १० हजार रुपैयाँ, बिमा शुल्क एक हजार रुपैयाँ र धरौटी दुई हजार रुपैयाँ निर्धारण गरिएको छ । टिम दर्ताको अन्तिम मिति मंसिर १८ गतेसम्म तोकिएको छ । प्रतियोगिता ९ ए साइडमा सञ्चालन हुनेछ । प्रत्येक टिममा १४ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरी १६ जना रहनेछन् । खेल अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
प्रत्येक नगर तथा गाउँपालिकाबाट एक टिम मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतियोगिताको उपविजेताले १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै, सेमिफाइनलमा पराजित हुने दुवै टिमलाई एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताले अन्तरपालिका स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत स्थानीय तहबीच आपसी सम्बन्ध र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र राईको भनाई छ ।











Discussion about this post