कातिक २९, सोलुखुम्बु । सोलुखुम्बुमा ज्यान मार्ने उद्योग कसुरमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको लिखुपिके गाउँपालिका–३ स्थित एक होटलमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा बियरको बोतल प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको हो ।
गत कात्तिक २४ गते राति करिब ११ बजे छिरिङ शेर्पा होटल एण्ड स्नोकर हाउसमा भएको घटनामा होटल सञ्चालक सोमनाथ गुरुङ र आङमाया शेर्पाले चौलाखर्कका ३० वर्षीय उमेश भन्ने धनबहादुर बस्नेतको टाउकोमा बियरको बोतल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार बोतल प्रहारबाट बस्नेत गम्भीर घाइते भएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मौसम तामाङका अनुसार पक्राउ परेका दुवै जनालाई सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।










Discussion about this post