मंसिर २, सोलुखुम्बु । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । बाँकी भूभागमा भने मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । महाशाखाका अनुसार तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । बिहानको समयमा हुस्सु र कुहिरोका कारण जनजीवन तथा यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।










Discussion about this post