मंसिर २, सोलुखुम्बु । उदयपुर, झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंसिर १ गते विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–८ राजावासस्थित साहीखोलाबाट एक जनालाई पक्राउ गरेको हो ।
स ५ प ५२७९ नम्बरको मोटरसाइकलमा सवार स्थानीय ३० वर्षीय रुपेश दनुवारको साथबाट २६ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधि ५२ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय कुरु उरावलाई ४५० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१९ की २१ वर्षीया सलिना परियारलाई आफ्नै डेरा कोठाबाट ३२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि लागूऔषध कारोबार तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।










Discussion about this post