मंसिर ३, सोलुखुम्बु । निर्माण सामग्री तथा इन्धनको निरन्तर मूल्यवृद्धि, स्थानीय करको भार र निर्माण आयोजनामा देखिएका विभिन्न व्यावसायिक कठिनाइबीच निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ। मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने १६औँ साधारण सभा तथा ९औँ अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कमल प्रसाद गौतम नेतृत्वको समूहले निर्माण व्यवसायीका समस्या समाधान, पेशागत हकहितको संरक्षण र संगठनात्मक सुदृढीकरणलाई मुख्य एजेण्डा बनाएको छ। आफ्नो समूहका पक्षमा समर्थन जुटाउन गौतमसहितको टोली कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर निर्माण व्यवसायीहरूसँग भेटघाट तथा छलफलमा जुटेको छ।
अधिवेशनअघि नै जिल्लास्तरमा व्यवसायीले भोगिरहेका समस्या, चुनौती तथा आवश्यकताहरू पहिचान गरी समाधानका लागि ठोस पहल गर्ने समूहले जनाएको छ। अध्यक्षका उम्मेदवार गौतमले निर्माण व्यवसायीको पेशागत हकहित संरक्षण, व्यवसायीका समस्या समाधान तथा महासंघको संस्थागत प्रतिष्ठा अभिवृद्धि आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्। गौतम नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा लेखनाथ खत्री, द्वितीय उपाध्यक्षमा ऋषिकेश रिजाल (केशव) र तृतीय उपाध्यक्षमा दिनेश पौडेल उम्मेदवार रहेका छन्। त्यस्तै, महासचिवमा दुर्गा बहादुर बुढा मगर, नीतिगत उपमहासचिवमा योगराज दाहाल (चन्दन), आन्तरिक उपमहासचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुरेश भट्टराई तथा सहकोषाध्यक्षमा लिलाबहादुर गुरुङ उम्मेदवार बनेका छन्। गौतम समूहले निर्माण व्यवसायीले भोग्दै आएका स्थानीय करसम्बन्धी समस्या, निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धि र आर्थिक कठिनाइलाई प्रमुख एजेण्डाका रूपमा अघि सारेको छ।
साना तथा ठूला दुवै प्रकृतिका निर्माण व्यवसायीलाई राहत पुग्ने गरी सम्बन्धित निकायसँग समन्वय तथा आवश्यक पहल गर्ने समूहको प्रतिबद्धता छ। निर्माण क्षेत्रलाई सूचना प्रविधिमैत्री बनाउने, नेतृत्व तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने र संगठन सञ्चालनलाई थप प्रभावकारी बनाउने योजना पनि समूहले अघि सारेको छ। महासंघका सदस्यहरूका लागि आवश्यक तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गरी व्यवसायीको दक्षता अभिवृद्धि गर्ने एजेण्डा समेत समेटिएको छ।निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र प्रभावित भइरहेको अवस्थामा सरकारसँग मूल्यवृद्धिको असर न्यूनीकरणका लागि पहल गर्ने गौतम समूहले जनाएको छ।
निर्धारित समयमा आयोजना सम्पन्न गर्न कठिनाइ भइरहेको परिस्थितिमा बैंक ग्यारेन्टी, बिमा तथा जरिवानासम्बन्धी व्यवस्थामा सहजीकरण गर्दै व्यवसायीलाई सहज वातावरण निर्माण गर्ने योजना पनि समूहले अघि सारेको छ। अधिवेशनमा ५१८ भन्दा बढी निर्माण व्यवसायी सहभागी हुने बताइएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै कोशी प्रदेशको निर्माण व्यवसाय क्षेत्रका समस्या, चुनौती र आगामी कार्यदिशाबारे छलफल गर्ने अपेक्षा गरिएको छ। निर्माण व्यवसायीको पेशागत सुरक्षा, आर्थिक चुनौतीको समाधान तथा संगठनात्मक सुदृढीकरणलाई मुख्य एजेण्डा बनाएको गौतम समूह अधिवेशनबाट आफ्नो पक्षमा समर्थन जुटाउने अभियानमा सक्रिय रहेको छ।











Discussion about this post