मंसिर ३, सोलुखुम्बु । सोलुखुम्बुका खेलाडीहरूले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन्। जुडो विधामा जिल्लाका खेलाडीहरूले तीन स्वर्ण र एक रजत पदक जित्दै सोलुखुम्बुको खेलकुद क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्। जुडोको महिलातर्फ ५२ केजी तौल समूहमा बिनिता नेपाली र ६३ केजी तौल समूहमा मिङ्मा डोल्मा शेर्पाले स्वर्ण पदक जितेका छन्।
पुरुषतर्फ ७३ केजी तौल समूहमा निमा रिन्जेन शेर्पाले स्वर्ण पदक प्राप्त गर्दा ६० केजी तौल समूहमा विजय तामाङले रजत पदक जितेका छन्। त्यसैगरी, बक्सिङ विधाको ८५ केजी तौल समूहमा सोलुखुम्बुका नर्बु शेर्पा फाइनलमा प्रवेश गरेका छन्। उनको फाइनल प्रतिस्पर्धा हुन बाँकी रहेको छ। प्रदेशस्तरीय छनोट प्रतियोगितामा सोलुखुम्बुका खेलाडीहरूले देखाएको प्रदर्शनले जिल्लाको खेलकुद क्षेत्र उत्साहित बनेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू आगामी राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुनेछन्। आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ। उक्त प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन भइरहेको छ।











Discussion about this post