सबिना राई, मंसिर ३, सोलुखुम्बु । जनता समाजवादी पार्टी (जसपा), नेपाल त्याग गरेका खोटाङका आठ जना स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त भएको छ । निर्वाचन आयोगले मङ्सिर ३ गते बिहीबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै आयोगको मङ्सिर २ गतेको निर्णयअनुसार ती जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी गराएको हो ।
वि.सं.२०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका उनीहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको भनी केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त भएको सूचनामा उल्लेख छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम आयोगले उनीहरूको पद रिक्त भएको सूचना प्रकाशन गरेको हो ।
आयोगका अनुसार पद रिक्त हुनेमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरु राज राई रहनुभएको छ । यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नालको पनि पद रिक्त भएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मुगा धन राईसहित सिङ्गो वडा समितिको पद रिक्त भएको छ । सोही वडाबाट निर्वाचित वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता वि.क., वडा सदस्य रामधन राई र अर्का वडा सदस्य शहर मनी राईको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ ।
पाथेकाका वडाध्यक्षसहित वडाका सबै जनप्रतिनिधिको पद रिक्त भएपछि बिहीबारदेखि वडा कार्यालयबाट हुने सेवा प्रवाह तथा दैनिक कामकाज प्रभावित बनेको स्थानीयले जानकारी दिएका छन् । निर्वाचन आयोगले देशभरका विभिन्न स्थानीय तहका कुल १८ जना जनप्रतिनिधिको पद रिक्त भएको सूचना जारी गरेकोमा खोटाङका मात्रै आठ जना परेका हुन् ।










Discussion about this post