मंसिर ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लुका वडा अध्यक्ष युवास तामाङले फेसबुकबाट प्राप्त आम्दानी खर्च गरेर ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल रातनाङ्गै स्थीत नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण गर्नुभएको छ । रातनांगे भ्यु टावरबाट करिब ५० मिटरको दूरीमा रहेको नाग ढुङ्गा (नाग राजा) सम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उहाँले व्यक्तिगत रूपमा फेसबुकबाट प्राप्त गरेको आम्दानी खर्च गरी गोरेटो बाटो निर्माण गरेका हुन् ।
उक्त स्थान सम्म जाने बाटो नहुँदा नागको जस्तो आकृति भएको ढुंगा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको थियो । निर्माण कार्य सम्पन्न भएसँगै उक्त धार्मिक तथा पर्यटकीय स्थलसम्म पुग्न पर्यटक र स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । वडामा रहेका प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्भावनाको पहिचान, संरक्षण र प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले यो प्रयास गरिएको वडा अध्यक्ष तामाङले बताउनुभएको छ ।
सार्वजनिक विकासका लागि सरकारी बजेटको मात्रै भर पर्नुपर्ने अवस्था नरहेको सन्देश दिन आफूले फेसबुकबाट प्राप्त आम्दानी गाउँको विकासमा खर्च गरेको उनको भनाइ छ । आफ्नो व्यक्तिगत आम्दानीको केही हिस्सा गाउँको विकास, पर्यटन प्रवद्र्धन र स्थानीय सम्पदाको संरक्षणमा लगाउन पाउँदा खुसी लागेको उहाँले बताएका छन् । सानो व्यक्तिगत प्रयासले पनि स्थानीय सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउन सकिन्छ भन्ने उदाहरण वडा अध्यक्ष तामाङको यो पहलले प्रस्तुत गरेको छ ।










Discussion about this post