मंसिर ६, सोलखुम्बु । उदयपुरको त्रियुगा नगरपालिकामा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका १ हजार ४ सय जनामध्ये १५० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ । यो परीक्षण गरिएकामध्ये १० दशमलव ७ प्रतिशत अर्थात् ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दु देखिएको हो । नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको समन्वयमा स्थानीय विद्यालयमा तीनदिने आँखा जाँच तथा उपचार शिविर सञ्चालन गरिएको थियो ।
विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका तथा सर्वसाधारणलाई लक्षित गरी आयोजित शिविर शनिबार सम्पन्न भएको हो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीका अनुसार शिविरमा ८०५ जना विद्यार्थी तथा अन्य अभिभावक, शिक्षकशिक्षिका र स्थानीय सर्वसाधारण गरी कुल १ हजार ४ सय जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् । शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीलाई आवश्यकताअनुसार चस्मा वितरण तथा शल्यक्रियाका लागि सिफारिस गरिएको छ ।
स्माबाट दृष्टिमा सुधार नहुने बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि चौधरी आँखा अस्पताल लहान पठाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । शिविरमा २१ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको छ भने मोतियाबिन्दु पहिचान भएका बिरामीमध्ये ६९ जनालाई शल्यक्रियाका लागि अस्पताल पठाइएको छ । पहिलो र दोस्रो दिन पहिचान भएका ३५ जनाको शुक्रबार नै शल्यक्रिया सम्पन्न भएको थियो ।
शल्यक्रिया गर्न बाँकी तथा अन्तिम दिन पहिचान भएका ३४ जनालाई अस्पताल पठाइएको हो । बाँकी ५१ जना बिरामीको पनि आइतबारसम्म शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख कार्कीले जानकारी दिनुभयो । चौधरी आँखा अस्पताल लहानका चिकित्सक डा। विनय कामतको नेतृत्वमा आएको टोलीले विद्यालयमै आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरेपछि विद्यार्थी, अभिभावक र स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाएको विद्यालयले जनाएको छ ।










Discussion about this post