उदयपुर, मङ्सिर १० गते । उदयपुरको ताप्लि गाउँपालिका–२ र ३ जोड्ने इनामे यारि खोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माले आज आयोजित एक कार्यक्रमबीच पुलको औपचारिक उद्घाटन गर्नुभएको हो ।
आर्यन बि।एम।बि। साहिल जेभी, कटारीले २०८१ साल वैशाखमा सम्झौता गरी निर्माण सुरु गरेको उक्त पुल २०८३ साल वैशाख ७ गते सम्पन्न गरेको हो । गाउँपालिकाको तीन करोड ६३ लाख ५५ हजार ५५६ रुपैयाँ लागतमा निर्माण भएको पुलको लम्बाइ २७ मिटर रहेको छ । पुल निर्माणसँगै विशेषगरी वडा नं. ३ का नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
यसले ताप्लि, दगले र रुपाटार क्षेत्रका बासिन्दाको जनजीवनमा सहजता ल्याउनुका साथै विद्यार्थी तथा सर्वसाधारणलाई आवतजावतमा ठूलो राहत पुग्ने गाउँपालिकाले जनाएको छ । पुल निर्माणबाट दगले र इनामेका नागरिक मात्र नभई छिमेकी लिम्चुङबुङ गाउँपालिकाका विभिन्न वडाका नागरिकसमेत लाभान्वित हुनेछन् ।
यसबाट ३० हजारभन्दा बढी नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । पुल निर्माण सम्पन्न भएपछि बेतेनी–नुनथला–माझखर्क सडकखण्ड थप सेवामुखी बनेको छ । उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वकर्माले पुल निर्माणको पहल अघिल्लो सरकारले गरेको भए पनि आफूहरू सरकारमा आएपछि निर्माण कार्यले गति लिएको बताउनुभयो ।
पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निरन्तर प्रयास गरेको उल्लेख गर्दै उहाँले यारि खोला पुल गाउँपालिकाका ठूला योजनामध्येको एक भएको बताउनुभयो । त्यसैगरी गाउँपालिका उपाध्यक्ष धनमाया मगरले आफू पनि विगतमा यस क्षेत्रको आवागमनसम्बन्धी समस्याको भुक्तभोगी रहेको बताउँदै पुल निर्माण सम्पन्न भएपछि स्थानीय नागरिकसँगै आफूलाई पनि खुसी लागेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा, सरोकारवाला निकायका प्रतिनिधि, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिकर्मी तथा सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडाध्यक्ष रंगमान तामाङले गर्नुभएको थियो ।










Discussion about this post