मंसिर १३, सोलुखुम्बु । सोलुखुम्बु–ओखलढुंगाको ऐतिहासिक टिम्बुरबोटे काण्डका जीवित शहीद लोकबहादुर गुरुङ (एलबी_ सम्मानित हुनुभएको छ। शहीद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको विशेष समारोहमा गुरुङलाई सम्मान गरेको हो। कांग्रेसका सभापति गगनकुमार थापाले ८४ वर्षीय गुरुङलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।
प्रतिष्ठानले उहाँलाई २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेको छ। प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको सङ्घर्षका क्रममा टिम्बुरबोटेमा भएको घटनालाई नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण घटनाका रूपमा लिइन्छ। निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्षरत योद्धाहरूलाई तत्कालीन शाही सेना र प्रहरीले ओढारमा घेराबन्दी गरी आक्रमण गरेका थिए।
उक्त आक्रमणमा १३ जना योद्धाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जना भागेर ज्यान जोगाउन सफल भएका थिए। भागेर बाँच्न सफल भएकामध्ये दुई जनालाई पछि पक्राउ गरी चरम यातना दिएर हत्या गरिएको थियो। लोकबहादुर गुरुङ र जसधन राई भने भारत पुगेर ज्यान जोगाउन सफल हुनुभएको थियो। तत्कालीन सरकारले गुरुङको टाउकोको मूल्यसमेत तोकेको थियो।
उहाँ २०३६ सालमा आममाफी पाएपछि नेपाल फर्किनुभएको थियो। लामो समयदेखि टिम्बुरबोटे घटनाका जीवित साक्षी रहनुभएका गुरुङलाई प्रतिष्ठानले यसपटक सम्मान गरेको हो। शहीद लीला–यशोदा दाहाल स्मृति प्रतिष्ठान पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहादत प्राप्त गर्नुभएका लीला (लीलानाथ) दाहाल र उहाँकी धर्मपत्नी यशोदा दाहालको स्मृतिमा स्थापना गरिएको संस्था हो।
ओखलढुंगाका योद्धा लीला दाहालले २०३१ सालको आन्दोलनको तयारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको २०३१ साल असोज १३ गते ललितपुरको नखुस्थित विष्णुदेवी मन्दिरनजिकको ओरालोमा गोली प्रहार गरी हत्या गरिएको थियो। सो घटनामा ठगिराज दाहाल, खगेन्द्रप्रसाद दाहाल र गोकर्णबहादुर कार्कीसमेत मारिएका थिए। यस्तै, यशोदा दाहाल पनि प्रजातन्त्र सेनानीका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँहरूले प्रजातन्त्र प्राप्तिका लागि पुर्याउनुभएको योगदानको स्मरण तथा सम्मान गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको हो। सम्मान कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।










Discussion about this post