साउन २०, सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा कार्गो ढुवानी बढेको छ । हिमाली जिल्ला सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुका लागी आउने कार्गो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा ढुवानी बढेको हो ।
खम्बु पासाङल्हामु गाउँपालिका २ स्थित उक्त विमानस्थलमा अघिल्लो आर्थिक वर्षमा ७ लाख ८१ हजार ६ सय ३७ केजी कार्गो ढुवानी भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा ८ लाख ५३ हजार ५ सय ८७ केजी कार्गो ढुवानी भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख उमेश पन्थीले बताउनुभएको छ ।
प्रत्यक्ष सडक सञ्जालले नजोडिएको खुम्बु क्षेत्रमा विभिन्न खालका खाद्यान्न सामाग्री ढुवानी होस या निर्माण सामाग्री प्लेनकै भर पर्नुपर्ने बाध्यता छ । यसकै फल स्वरुप खुम्बु भित्रिने कार्गो को सङ्ख्या बढेको विमानस्थल प्रमुख पन्थीको भनाई छ । यस्तै खुम्बु भित्रिने कार्गो बढ्दा त्यो सँगै बाहिरिने कार्गो पनि उत्तिकै बढेको छ ।
गएको आर्थिक वर्ष २०७९/८० मा १ लाख ७१ हजार ५ सय ७८ केजी कार्गो बाहिरिएको मा गत आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ३३ हजार ६ सय ८५ केजी कार्गो बाहिरिएको जनाइएको छ । यस वर्ष खुम्बुबाट बाहिरिने कार्गो ढुवानी सगरमाथा क्षेत्रबाट निस्काएको फोहोर अन्यत्र पठाउँदा बढेको हो ।
Discussion about this post