साउन ३२, सोलुखुम्बु । सोलुखुम्बुमा हिमताल फुटेर पहिरोको जोखिममा परेका ६ जनाको उद्धार गरिएको छ । हिमपहिरोले सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका थामेमा १५ देखि २० घर पुरिएको बताइएको छ ।
हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको नेपाली सेनाले जानकारी दिएको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको शिरमा रहेका हिमतालहरु फुट्दा थामे बस्तीका केही घर र होटेलहरू बगाएको हो । थामे खोलको शिरमा रहेका हिमताल हरु फुटेर बाढी आएको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिनुभयो । उक्त क्षेत्रमा सञ्चार सम्पर्क पनि स्थापित हुन नसकेकाले कतिवटा ताल फुटे भन्ने यकिन विवरण आउन कठिन भइरहेको प्रवक्ता शेर्पाले बताउनु भयो ।
सिंगो थामेमा बाढी पसेको र एउटा होस्टल र २ वटा होटलहरू पूर्ण रुपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिकाप्रसाद घिमिरेले बताउनु भयो । थामेको बाढी दुधकोशीमा मिसिएसँगै दुधकोशी तटीय क्षेत्रमा जोखिम रहेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले बताउनु भयो ।
तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन प्रशासनले अपिलसमेत गरेको छ । दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरुमा त्रास बढेको हो । बाढीले के कति मानवीय क्षति पु¥यायो भन्ने यकिन भने हुन सकेको छैन ।
Discussion about this post