असोज ९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा असोजमै हिमपात भएको छ। सामान्यतया मंसिरदेखि फागुनसम्म हिमपात हुने खुम्बु क्षेत्रमा यसपटक असोजमै हिउँ परेको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु क्षेत्रका फेरुचे, दिङ्बुचे, लोबुचे र गोरक्सेपलगायतका क्षेत्रमा हिमपात भएको छ । यस क्षेत्रमा हिजो उल्लेख्य हिमपात भएको थियो भने आज सामान्य हिमपात भइरहेको छ ।
असोजमै हिमपात भएपछि उच्च हिमाली क्षेत्रको जनजीवन सामान्य रूपमा प्रभावित भएको छ। लगातारको वर्षासँगै हिमपात भएपछि चिसो बढ्नुका साथै स्थानीय तथा पर्यटकलाई आवतजावतमा समेत कठिनाइ भएको छ। हिमपात र वर्षा एकैसाथ भएपछि खुम्बु क्षेत्रको भ्रमणमा पुगेका पर्यटकसमेत प्रभावित भएका छन्।
मौसम प्रतिकूल बनेपछि पदयात्रामा रहेका पर्यटकलाई यात्रा व्यवस्थापनमा समस्या भएको छ भने उच्च क्षेत्रमा चिसो र हिमपातका कारण उनीहरूलाई थप कठिनाइ भएको छ।सोलुखुम्बुको खुम्बु क्षेत्र विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। मुख्य पर्यटकीय सिजन सुरु हुनुअघि नै हिमपात र वर्षा भएपछि यसले पर्यटक तथा पर्यटन व्यवसायमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।










Discussion about this post