भदाै १, सोलुखुम्बु । सोलुखुम्बुको थामेमा बाढीले क्षति पुर्याएपछि आज शनिबार प्रशासनले हेलिकप्टर मार्फत राहत सामाग्री लिएर जाने भएको छ । शुक्रबार दिउँसो आएको अचानक बाढी आएको बाढीका कारण विस्थापित भएकाहरुका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आज हेलिकप्टर मार्फत राहत सामग्री लिएर जाने भएको हो ।
जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीमा परी एक जना बेपत्ता भएका छन् भने २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ ।
यस्तै ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रभावित १ सय ४० जनालाई होटल र आफन्तकहाँ सुरक्षित रुपमा राखिएको छ ।
प्रभावित क्षेत्रमा सेना र प्रहरीले उद्धार गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । प्रभावित क्षेत्रमा जाने बाटो तथा पुलहरुमा क्षति पुगेकोले आज हेलिकप्टरमार्फत राहत लिएर जाने तयारी गरेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले थामे बाढीबारे जानकारी लिँदै मानवीय क्षति हुन नदिनेमा ध्यान पुर्याउन निर्देशन दिनुभएको छ ।शुक्रबार राति टेलिफोन संवाद गर्दै प्रधानमन्त्री ओलीले मानव जीवनको मूल्य बराबर अरु केही पनि नभएकाले त्यसमा विशेष ध्यान दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले छिटो राहत पुगोस् र मान्छेको भोकै नपरुन्, भरसक मान्छे कठ्याङ्ग्रिएर मर्न नपरोस् भन्नेमा ध्यान दिन पनि निर्देशन दिनुभएको छ ।प्रभावित क्षेत्रका नागरिक कसैले नियमित औषधि सेवन गरिरहेको भए त्यसबारे छिटो जानकारी दिन र आवश्यक परे काठमाण्डौबाट औषधि पठाउने प्रबन्ध मिलाउने समेत प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
Discussion about this post