भदौ १, सोलुखुम्बु । खोटाङमा ९९.८१ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लाको १० हजार १८.१३ हेक्टरमध्ये ९ हजार ९ सय ९९.३९ हेक्टरमा धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईका अनुसार बिहीबारसम्म जिल्लाको दुई नगरपालिका दिक्तेल रूपाकोट मझुवागढी र हलेसी तुवाचुङबाहेक अन्य आठ स्थानीय तहमा रोपाइँ सकिएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको धान रोपाइँ हुने ३५ सय हेक्टरमध्ये ३४ सय ८२.५० हेक्टरमा (९९.५ प्रतिशत) धान रोपाइँ सकिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको एक सय २० हेक्टरमध्ये एक सय १८.८० हेक्टरमा (९९ प्रतिशत) धान रोपाइँ सकिएको हो ।
जन्तेढुङ्गा गाउँपालिकाको दुई सय ४०.९६ हेक्टर, बाराहपोखरी गाउँपालिकाको ६ सय ५७ हेक्टर, खोटेहाङ गाउँपालिकाको एक हजार दुई सय हेक्टर, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको एक हजार दुई सय हेक्टर, साकेला गाउँपालिकाको ८ सय हेक्टर, रावाबेसी गाउँपालिकाको ८ सय ५० हेक्टर, केपिलासगढी गाउँपालिकाको चार सय ५० हेक्टर र ऐसेलुखर्क गाउँपालिकाको एक हजार दशमलव १३ हेक्टरमा धान रोपाइँ सकिएको राईले बताए ।
Discussion about this post