चैत्र ३१, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १०६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्याङ्की प्रदान गरिएको छ । वर्षौदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीलाई पानी सङ्कलन गर्न मझुवागढी–१३ ले निःशुल्क ट्याङ्की वितरण गरेको हो । नुनथलामा लामो समयदेखि खानेपानीको समस्या रहिआएको छ ।
नुनथलाका २४५ घर उपभोक्ताले २०४१ सालमा सञ्चालित लोचाखोला मुहानको खानेपानी योजनाबाट पानी उपभोग गरिरहेको वडा अध्यक्ष भगेश्वर राईले बताउनुभयो । पानीको स्रोत सानो भएकाले हरेक दिन १२ घण्टा जम्मा गरेर तीन घण्टा वितरण गर्ने गरिएको छ । अधिकांशको घरमा उक्त पानी सङ्कलन गरेर राख्ने भाँडो छैन, धारामा आएको समयमा पानी थाप्न नपाउने घरपरिवारले उपभोग गर्न नपाउने भएपछि ट्याङ्की वितरण गरिएको वडा अध्यक्ष राईले बताउनुभयो ।
यसका लागि वडाले यस वर्ष १० लाख रकम विनियोजन गरेको थियो । लोचाखोला खानेपानी योजना मर्मतका लागि तत्कालीन १ नम्बर प्रदेश सरकारले २०७८ सालदेखि क्रमागत योजनाअन्तर्गत बजेट तथा सामग्री उपलब्ध गराउँदै आएको छ । यद्यपि, उक्त योजनामा कति खर्च भयो भन्ने वडा कार्यालयसँग एकीन विवरण छैन ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने नुनथलाको अधिकांश क्षेत्रमा खानेपानीको समस्या छ । नुनथलाको खानेपानी समस्या समाधानका लागि मुहानको अभाव रहेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
Discussion about this post