जेठ १५, सोलुखुम्बु । आज देशैभर १७ औँ गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावली सहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेअनुसार कार्यक्रम भइरहेका छन् ।
हिमाली जिल्ला सोलुखुम्बुमा आज वृक्षरोपणका कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने निर्णय भएको छ । आज जिल्लाका सबै सरकारी कार्यालयमा १ कार्यालय १० बिरुवा अभियान चलाएर वृक्षरोपण गरिने जनाइएको छ ।
डिभिजन वन कार्यालय सोलुखुम्बु सँगको समन्वयमा वृक्षरोपण कार्य गरिने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताउनुभयो । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।
सोही दिनको सम्झनामा नेपालमा गाणतन्त्र दिवस मनाउने गरिन्छ । गणतन्त्र दिवसको अवसरमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष सबैले विभिन्न माध्यमबाट शुभकामना व्यक्त गरिरहेका छन ।
Discussion about this post