जेठ १५, सोलुखुम्बु । भोलि हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको तयारी अन्तिम भएको जनाइएको छ । विश्वकै सर्वाधिक उचाइमा आयोजना हुने म्याराथन प्रतियोगिता हरेक वर्ष मे २९ मा हुने गरेको छ । यो वर्ष भोलि बाट हुने १९ औँ संस्करणको एभरेष्ट म्याराथनको तयारी ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको सम्झनामा हरेक वर्ष मे २९ मा तेन्जिङ हिलारी एभरेष्ट म्याराथन प्रतियोगिता आयोजना हुने गरेको छ । यो वर्ष पनि अघिल्ला वर्ष झै ३ विधा अल्ट्रा ( ७० किमि), फुल (४२ किमि) र हाफ २१ ( किमि ) दुरीको म्याराथनमा सहभागीहरूले दौडने छन ।
यो वर्षका लागी जम्मा २ सय २५ जना धावकले सहभागिताका लागी नाम दर्ता गराएको आयोजक संस्थाका निर्देशक शिखर पाण्डेले बताउनुभयो । जस मध्ये १ सय ३६ जना विदेशी र ८९ जना नेपाली धावक रहेका छन । धावकहरूले अल्ट्रा म्याराथनको उपाधि जित्नका लागी एभरेष्ट बेस क्याम्प देखी नाम्चे बजार सम्मको ७० किमि दूरी तय गर्नुपर्ने छ ।
यस्तै फुल म्याराथनको उपाधिका लागी सगरमाथा आधार शिविरदेखि नाम्चे बजार, गोरक्षप हुँदै दिङ्बोचे, बिबर लुप, र रमणीय काला पत्थर आरोहण गर्दै ४२ किमि दूरी तय गर्नुपर्ने छ । भने हाफ म्याराथन २१ किलोमिटर दौड दिङबोचेबाट सुरु भएर नाम्चे बजारमा समाप्त हुने छ ।
Discussion about this post