बैशाख २०, सोलुखुम्बु । सङ्खुवाभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा बुहारीको योजनामा ७२ वर्षीय ससुराको हत्या गरिएको छ । गत शनिबार तुम्लिङटारमा मनबहादुर कुमालको ४५ वर्षीय बुहारीले दुई जना नाबालक परिचालन गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्याका योजनाकारले १७ वर्षीया दुई नाबालक र आफ्नै १३ वर्षीया छोरीको प्रयोग गरेर ससुराको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीले हत्यामा संलग्न एक नाबालिका, दुई नाबालक र योजनाकार मृतककी बुहारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । घटनामा संलग्नहरू नाबालक तथा नाबालिका रहेकाले मृतकको योजनाकार बुहारीको पहिचान गोप्य राख्नुपरेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । मृतककी श्रीमतीको नाममा रहेको जग्गा बेच्न खोजेपछि उक्त जग्गाको लोभमा बुहारीले ससुराको हत्या गर्ने योजना बनाएको खुल्न आएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।
जग्गा बेचिहाले आफुने नपाउने भएकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उहाँको भनाइ छ । पूर्व योजना अनुसार गत शनिबार राति दुई नाबालक बोलाई वृद्ध ससुराको हत्या गर्न लगाएको हो । मृतक र बुहारीको घर करिब सय मिटरको दूरीमा पर्छ । हत्या गर्नु अघि बुहारीले दुई जना नाबालकलाई घरमै बोलाइ र राति सुतिरहेको अवस्थामा हत्या गर्न लगाएको अनुसन्धामा देखिएको प्रहरीले जनाएको छ ।
Discussion about this post