बैशाख २०, सोलुखुम्बु । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा ७४.६ किलोमिटर लामो साईकल यात्रा सफलतापूर्वक सम्पन्न भएको छ । खिजीफलाटे बजारबाट सुरु भएको यात्रा पात्ले, पीके र देम्बाडाँडा लगायतका प्रमुख पर्यटकीय स्थलहरू हुँदै सम्पन्न भएको हो ।
पर्यटन प्रवद्र्धन तथा स्थानीय आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको साईकल यात्रामा स्वदेश तथा विदेशबाट आएका ६५ जना सहभागी बनेका थिए । तीमध्ये करिब ७० प्रतिशत पर्यटन व्यवसायीहरू रहेका छन् । टूरिज्म डेभलपमेन्टको आयोजना तथा खिजीदेम्बा गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त साईकल यात्रा गाउँपालिकाको दिगो पर्यटन योजना अन्तर्गत गरिएको हो ।
पालिका अध्यक्ष गम्बु शेर्पाका अनुसार यस अभियानले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नुका साथै स्थानीय स्तरमा रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । यस यात्रा कार्यक्रमले खिजीदेम्बालाई नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । समापनमा सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
Discussion about this post