बैशाख २२, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वर्षौंदेखिको एक ठूलो सपना पुरा हुँदैछ । ठोट्ने खोला सोलाघर माथिबाट झिकिएको खानेपानी अब भदौरेको शिरसम्म आइपुगेको छ । ३१.५ किलोमिटर लामो पाइपलाइनमार्फत सञ्चालित खानेपानी आयोजना आईतबार सफल परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । करीब १९ करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजना सम्पन्न भएपछि भदौरे क्षेत्रका बासिन्दाहरूले स्वच्छ र सुरक्षित खानेपानी पाउने भएका छन् ।
यसले स्थानीयको जनजीवनमा ठूलो सकारात्मक परिवर्तन ल्याउने विश्वास चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले व्यक्त गर्नुभएको छ । स्थानीय तह, संघीय सरकार, सांसद तथा विभिन्न निकायहरूको सक्रिय सहयोगमा अघि बढाइएको यो आयोजना भदौरेबासीको लागि दीर्घकालीन उपलब्धि सावित हुने अपेक्षा गरिएको छ । आयोजना सफल बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेका संघीय खानेपानी आयोजना प्रमुखहरू हिराकाजी महर्जन र विपुल दास, क्षेत्रीय सांसद रामहरी खतिवडा, वडा अध्यक्ष बलराम कटवाल लगायत सबैलाई गाउँपालिकाले आभार व्यक्त गरेको छ ।
“भदौरेबासीको खुसी हाम्रो खुसी हो,” अध्यक्ष शर्माले भन्नुभयो, “अब गाउँमा हरियालीसहितको समृद्ध जीवन सुरु हुने विश्वास लिएको छु ।” खानेपानीको पहुँचसँगै स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय बासिन्दाहरूको आशा छ ।
Discussion about this post