बैशाख २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ स्थित थाप्रेमा कुटपिटका कारण एक जनाको ज्यान गएको छ । दाउराको विषयमा विवाद हुँदा कुटपिटको घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनामा पिकेपोख बस्ने अन्दाजी ५२ वर्षीय ङवाङ शेर्पा र लिखुपिके गाउँपालिका–१ गोलीका अन्दाजी ४६ वर्षीय पेम्बा तामाङबीच सामान्य भनाभनबाट झगडा भएको थियो ।
झगडाका क्रममा भएको कुटपिटमा ङवाङ शेर्पाको खुट्टामा चोट लागेको थियो । त्यसपछि उनी जुकवीर तामाङको घरमा गएर सुतेका थिए। जुकवीरको घरमा बस्दै आएका शेर्पा आज वैशाख २२ गते बिहान मृत अवस्थामा फेला परेका हुन् । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र अस्थायी प्रहरी चौकी तामाखानीबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी फरार रहेका पेम्बा तामाङलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरेका अनुसार तामाङलाई सोलुखुम्बु जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।
Discussion about this post