बैशाख २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–६ का किसानहरुलाई कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यले कृषि सामाग्री वितरण गरिएको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको “तरकारी पकेट कार्यक्रम“ अन्तर्गत सोमबार वडा नम्बर ६ मा रहेका १८ घरधुरी कृषक तथा कृषक समूहलाई आवश्यक कृषि सामाग्री प्रदान गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार टनेल, सिँचाइका लागि आवश्यक उपकरणलगायतका सामाग्री वितरण गरिएको हो । वडाले यसअघि पनि सोही कार्यक्रम अन्तर्गत खोरिया क्षेत्रका २२ घरधुरी र ४ व्यक्तिगत कृषकलाई यस्तै सामग्री हस्तान्तरण गरिसकेको जनाएको छ । यो कार्यक्रमले स्थानीय उत्पादनमा वृद्धि ल्याउने, कृषकको आयस्तर बढाउने तथा युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्य राखेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।
स्थानीय किसानहरुले कृषि सामग्री पाएपछि व्यवसायिक उत्पादन गर्न सजिलो हुने बताउँदै धन्यवाद प्रकट गरेका छन् । यस कार्यक्रमबाट भविष्यमा कृषिमा आत्मनिर्भरता र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
Discussion about this post