बैशाख २३, सोलुखुम्बु । खोटाङकी नेपाली अल्ट्रा धाविका प्रिया राईले थाइल्यान्डमा आयोजित ‘अमेजोन जंगल थाईल्यान्ड वाई युटिएमबी’ प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गर्व गर्नलायक सफलता दिलाएकी छिन् । ५५ किलोमिटर दूरीको अल्ट्रा रनिङ प्रतिस्पर्धामा सहभागी भएकी प्रियाले ६ घण्टा २८ मिनेट २२ सेकेन्डमा दूरी पूरा गर्दै प्रतियोगिताको उपाधि हात पारिन्।
यस रेसमा इटलीकी नथलिया मास्ट्रोटा ६ घण्टा ४२ मिनेट ५२ सेकेन्डमा दोस्रो र पोल्यान्डकी आन्ना ६ घण्टा ५५ मिनेट २ सेकेन्डमा तेस्रो स्थानमा रहिन् । राईले एक साताभित्रै दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाएकी छन् ।उनले मलेसियामा आयोजित ५० किलोमिटर रनिङमा दोस्रो स्थान हासिल गरेकी थिइन् ।युटिएमबी विश्वकै चर्चित तथा कठिन अल्ट्रा रनिङ रेसहरूमध्ये एक मानिन्छ । यस प्रतियोगितामा प्रियाले बलियो अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै नेपालको नाम उच्च बनाएकी छिन् ।
नेपालको दुर्गम जिल्ला खोटाङबाट अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेर ऐतिहासिक सफलता हासिल गरेकी प्रिया राईको यो जितले नेपाली खेलकुदप्रेमीहरूमा गर्वको भावना थपेको छ ।
Discussion about this post