जेठ १६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेको एक विद्यालयका ३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । नेलेका पुर्व शिक्षक तथा समाजसेवी स्वर्गीय रमेशबाबु थुलुङको तेश्रो पुण्यतिथिको अवसरमा थुलुङका माइला छोरा नेपाली कांग्रेसका युवा नेता रोशनबाबु थुलुङ तथा परिवारले नेलेको हिमशिखर केयरने अस्टीनोभ स्कुलका जेहेन्दार, प्रतिभावान तथा गरिव ३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
थुलुङ परिवारले एक औपचारिक कार्यक्रमका बिच विद्यालयको कक्षा ५ मा अध्ययनरत अनिशा बस्नेत र जेनिश थापा त्यसैगरी कक्षा १ का विद्यार्थी प्रज्ज्वल विकलाई छात्रबृत्ति प्रदान गरेको हो । छात्रवृत्ति मार्फत ३ जनानै विद्यार्थीको एक वर्ष सम्मको मासिक शुल्क ६७ हजार २ सय बराबरको रकम कट्टा गरिएको छ । छात्रवृत्ति पाएका विद्यार्थीहरू कक्षा ५ का अनिशा र जेनिशले एक वर्षको मासिक शुल्क २४÷२४ हजार रुपैयाँ थुलुङ परिवारले तिरिदिने भएको छ ।
यस्तै कक्षा १ का विद्यार्थी प्रज्वलको १ वर्ष सम्मको मासिक शुल्क १८ हजार २ सय रुपैयाँ पनि थुलुङ परिवारले तिरिदिने रोशनबाबु थुलुङले बताउनुभयो । समाजसेवी स्वर्गीय थुलुङले शैक्षिक क्षेत्रमा पुर्याएको योगदान माथि थप मलजल गर्नका लागी यहि वर्षबाट सुरु गरिएको छात्रावृत्तिको दायरा आउने वर्षहरूमा फराकिलो बनाउँदै लैजाने उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति सोलुखुम्बुकी सदस्य सिता बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न छात्रबृत्ति वितरण कार्यक्रममा हिमशिखर केयरने अस्टीनोभ स्कुलका व्यवस्थापन समिति अध्यक्ष तथा कांग्रेस नेता वीर बहादुर गुरुङको सभापतित्व सम्पन्न भएको थियो । कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष घनराज सुनुवारले स्वर्गीय रमेशबाबु थुलुङको शिक्षा क्षेत्रमा योगदान अतुलनीय रहेको बताउँदै परिवारले योगदानलाई ओझेल पर्न नदिनका लागी गरिरहेको कार्य सराहनीय रहेको जिकिर गर्नुभयो ।
यस्तै कार्यक्रममा नेले स्थित जीवनज्योति माविका प्रधानाध्यापक प्रभुराम बस्नेतले सामुदायिक विद्यालय राजनीतिको अखडा भएकाले सामुदायिक विद्यालय प्रति अभिभावकहरूको गुनासो बढ्दै गएको टिप्पणी गर्दै संस्थागत विद्यालयले आफ्नो साख बचाउन सफल भएको बताउनुभयो । नेलेको शैक्षिक क्षेत्रमा स्वर्गीय रमेशबाबु थुलुङले ठुलो योगदान गर्नुभएको सम्झदै उहाँले यि उपलब्धीलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ सोलुखुम्बुका अध्यक्ष ल्हाक्पा तामाङ लगायत अन्य विभिन्न पद तथा ओहदाका व्यक्तिहरूले स्वर्गीय थुलुङ प्रति श्रद्धासुमन व्यक्त गरेका थिए । स्वर्गीय थुलुङका श्रीमती, ३ छोरा र १ छोरी छन ।
Discussion about this post