साउन १९, सोलुखुम्बु । साउन ११ गते पोखरा आएका सिन्धुलीका हायु परिवार अन्ततः गाउँ फर्किन तयार भएका छन् । गोलन्जोर गाउँपालिका ६ काका वडाध्यक्षको निरन्तर प्रयासले उनीहरू गाउँ फर्किन तयार भएका हुन् । उनीहरूलाई लिन वडाध्यक्ष रविन श्रेष्ठ आफै पोखरा आएका थिए । गाउँ फर्किन मानेपनि उनीहरूले आफ्नै पुरानो घरमा भने नजाने बताएका छन् । हायु परिवार पोखराको गगनगौंडामा छन् ।
घरमा बालबालिका निरन्तर बिरामी पर्न थालेपछि सिन्धुलीस्थित आफ्नो घर छाडेर उनीहरू पोखरा आएका हुन् । जनप्रतिनिधिहरूले रोजगारी तथा सुरक्षित आवासको आश्वासन दिएपछि १९ जना नै गाउँ फर्किन तयार भएका हुन् । सिन्धुलीबाट निर्वाचित सांसद श्यामकुमार घिमिरेले परिवारका दुई सदस्यलाई रोजगारीको ग्यारेन्टी गरेका छन् ।
परिवारले लिएको ऋण तिर्नका लागि पनि वडा कार्यालयले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । साउन ११ गतेदेखि घर छाडेर हिँडेको यो परिवारले पोखरामा भेटिएपछि सुरुमा घर फर्किन मानेको थिएन ।
Discussion about this post