भदौ २६, सोलुखुम्बु । देशव्यापी आन्दोलनका क्रममा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै खोटाङको केपिलासगढी गाउँपालिकाले दुई दिनका लागि मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय बिहीबार र शुक्रबार बन्द रहने जानकारी दिएको हो ।
गाउँपालिका अध्यक्ष समिर राईद्वारा हस्ताक्षरित सूचनामा जनधनको क्षति हुने गरी भएको अकल्पनीय घटनाले सम्पूर्ण गाउँपालिका स्तब्ध भएको उल्लेख गरिएको छ । “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा काठमाडौँसहित देशका विभिन्न स्थानहरूमा गरिएको आन्दोलनको क्रममा भएको घटनाबाट गाउँपालिका मर्माहित र शोकाकुल छ,” सूचनामा भनिएको छ ।
गाउँपालिकाले सेवा लिन आउने सेवाग्राहीहरूसँग क्षमायाचना गर्दै शान्ति, संयमता र धैर्य अपनाउन सबैमा अपिलसमेत गरेको छ। अध्यक्ष राईका अनुसार अवस्था सामान्य भएलगत्तै, आइतबारबाट नियमित सेवा पुनः सुरु गरिने छ ।
Discussion about this post