भदौ ३०, सोलुखुम्बु । मन्त्री छनोटपछि असन्तुष्टि जनाउँदै सुदन गुरुङ समूहका जेनजीहरुले गएराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि नाराबाजी गरेका छन् । सो क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेत सहभागी भएर उनीहरुले नाराबाजी गरेका हुन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार राष्ट्रपतिले तीन मन्त्री नियुक्त गरेका थिए । जसको आज शपथ हुने भनिएकामा त्यसअघि गुरुङ समूहले आक्रोश पोख्दै नाराबाजी गरेको हो। विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री बनाइएकोमा उनीहरुको आक्रोश देखिएको छ ।
यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गरिएको छ। तर सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै आक्रोश पोखेका हुन् ।
Discussion about this post