भदौ ३०, सोमबार । सोलुखुम्बुमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको हो ।
भदौ ३० गते देखि आगामी कार्तिक १० गते सम्मका लागि सुपथ मुल्यको पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुका प्रमुख अमिताभ कुमार यादवले बताउनुभयो । उक्त पसलमा विशेष गरी चामल सुपथ मुल्यमा पाईने छ । सोना मन्सुली चामल, फोर्टिफाइड स्टिम जिरा मसिनो चामल र फोर्टिफाइड अरुवा चामलमा प्रतिकेजी ५ रुपैयाँ छुटमा बिक्री गर्ने भइरहेको छ ।
सोना मन्सुली चामल र फोर्टिफाइड स्टिम जिरा मसिनो चामल प्रति बोराको २५ के.जी बराबर २१ सय २५ रुपैयाँ र फोर्टिफाइड अरुवा चामल प्रति बोरा १४ सय ७५ रुपैयाँमा बिक्री भइरहेको जनाइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुलाई यो वर्ष ५ सय क्विटल चामल छुटमा बिक्री गर्न कोटा तोकिएको कार्यालयले जनाएको छ ।
Discussion about this post