जेठ २३, सोलुखुम्बु । सोलुखुम्बुमा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने विश्वव्यापी नाराका साथ वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८१ भव्य रूपमा मनाइएको छ । डिभिजन वन कार्यालय सल्लेरी सोलुखुम्बुको आयोजनामा कार्यालय परिसरमा ५० बोट धुपीको बिरुवा रोप्दै दिवस भव्यताका साथ मनाइएको हो ।

मानव जातिको महत्त्वाकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आजको चुनौती बनेको भन्दै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख बद्री प्रसाद शाहले विकासलाई वातावरणमैत्री बनाउन वृक्षारोपण आवश्यक रहेकाले वृक्षारोपण गरी दिवस मनाएको उल्लेख गर्नुभयो । प्रमुख शाहले विज्ञानको नवीनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको उल्लेख गर्नु भएको हो ।

‘प्रकृतिमुखी जीवनशैलीका लागि वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई कसरी दिगो बनाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले बताउनुभयो । वातावरण सुधारका गतिविधिहरू प्रवद्र्धन गर्न सबै एकजुट भई लाग्नु पर्ने आग्रह गर्नुभयो ।

उक्त दिवसमा विभिन्न संघ संस्थाका प्रतिनिधी, जिल्लाका सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । १९७२ जुन ६ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बनेको थियोे । त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको थियो ।
Discussion about this post