कात्तिक ११,सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा वर्षा र हिमपातजन्य मौसमी जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै वर्षा र हिमपातका कारण हुने सम्भावित विपद्बाट जोगिन सबैलाई सचेत रहन अनुरोध गर्नुभएको हो ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनअनुसार बुधबारसम्म देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएपछि प्रशासनले सोलुखुम्बुमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो । प्रजिअ पाण्डेले सगरमाथा लगायतका पर्यटकीय गन्तव्यमा अहिले पर्यटकहरुको भीड रहेकाले हिमपातजन्य जोखिमले उनीहरूलाई बढी प्रभावित पार्न सक्ने उल्लेख गर्नुभयो। उहाँले सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका आन्तरिक तथा बाह्य पर्यटक, पदयात्री र स्थानीय नागरिक सबैलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा वा भ्रमण गर्न अनुरोध गर्नुभएको छ ।
त्यस्तै, जिल्लाको हिमाली भेगमा बसोबास गर्ने स्थानीय बासिन्दालाई वर्षा र हिमपातका कारण हुने जाडो र अन्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र अत्यावश्यक काममा मात्र मौसमको अवस्था हेरी यात्रा गर्न सुझाव दिइएको छ ।
यता, सोमबार रातिदेखि जिल्लामा आकाश धुम्मिएको छ भने मङ्गलबार बिहान सदरमुकाम सल्लेरी बजारमा फाट्टफुट्ट वर्षा भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको स्थानीयले बताएका छन् । मौसममा आएको परिवर्तनसँगै जिल्लामा चिसो पनि तीव्र रूपमा बढेको छ ।











Discussion about this post