कार्तिक १४, सोलुखुम्बु । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१ /८२ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुले गरेको खर्च र प्रगतिको समीक्षा गरिएको हो ।
वार्षिक प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुबाट १२ हजार ४ सय ९१ जनाले सेवा लिएका छन् । तीमध्ये ४ हजार ८ सय ४ जनाले ओपीडी सेवा, १ हजार ६७ जनाले पूर्वकर्म सेवा, ९६ जनाले स्तनपायी आमा सेवा, र ६४४ जनाले ज्येष्ठ नागरिक सेवा प्राप्त गरेका छन् ।
कार्यक्रममा केन्द्रका निमित्त कार्यालय प्रमुख अमृन्द्र कुमार पण्डितले सम्पूर्ण कार्य विवरण प्रस्तुत गर्दै कार्यालयमा कर्मचारीको अभाव, स्रोतसाधनको कमी, तथा औषधि खरिदका लागि न्युन बजेटजस्ता समस्या रहेको उल्लेख गर्नुभयो । त्यसैगरी विभिन्न पालिकास्तरीय आयुर्वेद औषधालयका प्रतिनिधिहरुले आफ्ना–आफ्ना क्षेत्रका कार्यप्रगति प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका सञ्चालक समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले आयुर्वेद औषधि जडिबुटीबाट निर्माण हुने भएकाले स्थानीय जडिबुटीको पहिचान र उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
यस्तै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङले आधुनिक युगसँग तालमेल मिलाउँदै आयुर्वेद क्षेत्रका कर्मचारीलाई आधुनिक प्रविधि र कार्यशैलीमा दक्ष हुन आग्रह गर्नुभयो । साथै नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्न सधैं तत्पर रहेको बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापा, विभिन्न संघ–संस्था तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
 
			 
                                









 
                                
Discussion about this post