कार्तिक २२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। गाउँपालिकाको समन्वयमा र कादुरी एग्रिकल्चरल एड एशोसिएसनको आयोजनामा ४ दिने स्वास्थ्य शिविर शनिबारदेखि सञ्चालनमा आएको हो। गाउँपालिकाको मुक्लिस्थित विरेन्द्रोदय माध्यमिक विद्यालयमा भइरहेको उक्त शिविर २५ गतेसम्म सञ्चालन हुने छ।
पहिलो दिन मात्रै ३५४ जना स्थानीयवासीले स्वास्थ्य सेवा प्राप्त गरेको कादुरी एग्रिकल्चरल एड एशोसिएसन, ब्रिटिस गोर्खाज नेपालका क्याप्टेन राजन राईले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा परीक्षण र मोतिबिन्दु शल्यक्रिया, दाँत उपचार तथा आवश्यक परे दाँत झिक्ने सेवा, रगत, पिसाब, मुटुको ईसीजी, भिडियो एक्स–रे लगायतका परीक्षणहरू निःशुल्क गरिने व्यवस्था गरिएको छ। साथै, उपचारपछि आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको छ। शिविरको पहिलो दिन गाउँपालिका अध्यक्ष असिम राईले अनुगमन गर्नुभएको थियो ।
शिविरमा विभिन्न नेपाली विशेषज्ञ चिकित्सकहरूको टोली खटिएको छ। गाउँमै विशेषज्ञ सेवा पाउँदा स्थानीयवासीहरू अत्यन्तै खुसी देखिएका छन्। स्वास्थ्य सेवा लिन जिल्लाबाहिर हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै सेवाग्राहीहरूले गाउँपालिका र आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्।










Discussion about this post