सबिना राई, जेठ १३, सोलुखुम्बु । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले जिल्लामा टेलिफोन टावर र विद्युत् सेवासम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै सांसद कार्कीले सोलुखुम्बुका धेरै क्षेत्रमा अझै पनि केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार हुन नसकेको बताउनुभयो । विस्तार भएका स्थानमा समेत गुणस्तरीय विद्युत् सेवा उपलब्ध नभएको उहाँको भनाइ थियो। ।
उहाँले सोलुखुम्बुमा नेपाल टेलिकम (एनटीसी) नेटवर्कको समस्या अझै कायम रहेको उल्लेख गर्दै लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेका टेलिफोन टावरमा नियमित विद्युत् आपूर्ति नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो । ती क्षेत्रमा २४ घण्टामध्ये करिब १२ घण्टा मात्रै टावर सञ्चालन हुने अवस्था रहेको भन्दै दीर्घकालीन समाधानको माग गर्नुभयो ।
सांसद कार्कीले खुम्बु पासाङल्हामु गाउँपालिकामा पनि नेटवर्क समस्या रहेको उल्लेख गर्दै यसबाट स्थानीय बासिन्दासँगै पर्यटकसमेत प्रभावित भएको बताउनुभयो । उहाँले दुर्गम हिमाली क्षेत्रमा सञ्चार र विद्युत् सेवाको भरपर्दो व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।










Discussion about this post