जेठ १५, सोलुखुम्बु । तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करण शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा प्रतिस्पर्धा गरिएको थियो। पुरुषतर्फ रोनक उप्रेती प्रथम, मिर्को लेरोस द्वितीय तथा तेन्जिङ बर्टिन राई तृतीय भएका छन्। यस्तै महिलातर्फ स्वस्तिका चौधरी प्रथम, याङ्किला शेर्पा द्वितीय तथा पञ्चमाया तामाङ तृतीय भएका छन्।
दुवै विधाका विजेताले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका लागि ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी १२ जना खेलाडी पुगेका थिए। पुरुषतर्फ एक विदेशी आरोही पनि फाइनलमा प्रवेश गरेका थिए। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य नेपालमा साहसिक आरोहण खेलको प्रवद्र्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्नु रहेको छ।
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङका अनुसार यस वर्षको प्रतियोगिता विशेष रह्यो, किनभने पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको थियो । यसअघि भएका दुई संस्करण भने टप–रोप क्लाइम्बिङमा सीमित थिए। तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा सुरु गरिएको यो प्रतियोगिता सन् १९५३ मे २९ मा सर एड्मण्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको आयोजकले जनाएको छ। अध्यक्ष गुरुङका अनुसार मे २९ को ऐतिहासिक अवसरलाई लक्षित गर्दै यस वर्ष प्रतियोगितालाई विशेष रूपमा आयोजना गरिएको हो।
उनले इतिहाससँग जोडिएको यस महत्वपूर्ण दिनमा प्रतियोगिता आयोजना गर्नु तेन्जिङ नोर्गे शेर्पाको साहस र पर्वतारोहण क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानप्रति उच्च सम्मान भएको बताए। आयोजकका अनुसार प्रतियोगिताले नेपालमा विकास हुँदै गएको साहसिक आरोहण खेल संस्कृतिलाई थप प्रवद्र्धन गर्नुका साथै युवा पुस्तालाई साहसिक खेल तथा पर्वतारोहणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।










Discussion about this post