असार ०९, साेलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रस्तावित जलविद्युत् आयोजनासम्बन्धी विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले समन्वय तथा सहजीकरण बैठक आह्वान गरेको छ।
विभागले असार ९ गते जारी गरेको पत्रमार्फत पान हिमालय ऊर्जा लिमिटेड, ग्लोबल हाइड्रोपावर एसोसिएट लिमिटेड, जुनबेशी हिमालय हाइड्रोपावर लिमिटेड तथा लिखु जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा समितिलाई बैठकमा सहभागी हुन आग्रह गरेको हो।
विभागका अनुसार लिखु–१, लिखु–२ र लिखु–५ जलविद्युत् आयोजनासँग सम्बन्धित विषयमा प्रभावित स्थानीय बासिन्दा समिति तथा संघर्ष समितिका तर्फबाट विभिन्न निकायमा निवेदन पेश भएपछि समन्वय बैठक बोलाइएको हो।
यस विषयमा गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट प्राप्त पत्रलाई समेत आधार मानी सरोकारवाला पक्षबीच छलफल, समन्वय र सहजीकरणका लागि बैठक आयोजना गर्न लागिएको विभागले जनाएको छ।
बैठक असार १२ गते शुक्रबार बिहान ११ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभा हल, सिंहदरबारमा बस्ने तय भएको छ।
लिखु जलविद्युत् आयोजनाका विषयमा स्थानीय तह, प्रभावित बासिन्दा र प्रवर्द्धक कम्पनीबीच देखिएका विभिन्न चासो तथा विवादका विषयमा छलफल गरी आवश्यक सहमति र समाधान खोज्ने उद्देश्यले बैठक आयोजना गरिएको विभागको भनाइ छ।










Discussion about this post